इनरुवा, १७ असोज। नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन सुरु हुन लाग्दा सुनसरी निर्वाचन क्षेत्र नम्बर २ र ४ मा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अन्योलमा परेको छ। क्षेत्रीय अधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिको निर्वाचन स्थगित भएपछि दुवै क्षेत्रबाट प्रतिनिधि चयन हुन सकेको छैन।
महाधिवेशनमा सहभागी हुन सुनसरी–२ र ४ का नेताहरू काठमाडौं प्रस्थान गर्ने तयारीमा जुटेका छन्। तर, उनीहरूले अहिलेसम्म महाधिवेशन प्रतिनिधि चयन भएको प्रमाणपत्रसमेत पाएका छैनन्।
नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले पार्टीको विधान र निर्देशिकाबमोजिम सुनसरीका दुवै क्षेत्रबाट महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने बताएका छन्।
भण्डारीको नेतृत्वमा क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधिका उम्मेदवारहरूको उम्मेदवारी फिर्ता गराएर सहमतिका आधारमा प्रतिनिधि चयन गर्ने प्रयास गरिएको थियो। आज बिहानदेखि गरिएको उक्त प्रयास केही उम्मेदवार तथा कार्यकर्ताको विरोधका कारण सफल हुन नसकेको बताइएको छ।
सुनसरी–२ मा विभिन्न पदका लागि ६७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। सबै उम्मेदवारी फिर्ता गराएर सहमतिबाट प्रतिनिधि चयन गर्ने प्रयास भए पनि विरोधका कारण सहमति जुट्न नसकेको हो।
यता, निर्वाचन अधिकृत भरत थापाले निर्वाचनसम्बन्धी विवादको अहिलेसम्म निकास ननिस्किएको बताएका छन्। विभिन्न उजुरी आउने क्रम जारी रहेकाले प्राप्त सबै उजुरी आइतबार बिहान केन्द्रीय निर्वाचन समितिमा पठाइने र त्यहाँबाट प्राप्त निर्देशनअनुसार अघि बढ्ने उनले जानकारी दिए।
थापाले कुनै आधारबिना कसैले पनि महाधिवेशन प्रतिनिधिको प्रमाणपत्र नपाएको र नपाउने स्पष्ट पारेका छन्। यसैबीच, निर्वाचन प्रक्रिया टुंगो नलाग्दै गोप्य रूपमा प्रमाणपत्र वितरण हुन सक्ने आशंकासमेत व्यक्त हुन थालेको छ।
सुनसरी–२ का सभापति पदका उम्मेदवार सुदीप अधिकारीले निर्वाचन स्थगित गर्न सहमति भए पनि पुनः निर्वाचन गराउन आग्रह गर्दा निर्वाचन समिति मौन बसेको आरोप लगाए। बन्द कोठाभित्र गरिने सहमति आफूहरूलाई मान्य नहुने बताउँदै उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले प्रतिनिधि चयन प्रक्रिया पारदर्शी हुनुपर्ने धारणा राखे।
महाधिवेशन प्रतिनिधि गोप्य रूपमा चयन हुन सक्ने आशंकाबारे प्रतिक्रिया दिँदै अधिकारीले लोकतान्त्रिक पार्टीमा त्यस्तो प्रक्रिया स्वीकार्य नहुने बताए।
नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा उद्घाटन हुँदैछ। यसअघि असोज १६ गतेदेखि हुने तय भएको महाधिवेशन भारी वर्षाका कारण केही क्षेत्रमा अधिवेशन तथा प्रतिनिधि चयन प्रक्रिया प्रभावित भएपछि दुई दिन पछि सारिएको हो।
असोज १९ र २० गते बन्दसत्र सञ्चालन गर्ने तथा असोज २१ र २२ गते नेतृत्व चयनका लागि निर्वाचन गर्ने कार्यतालिका तय गरिएको छ।
महाधिवेशन सुरु हुन एक दिन मात्र बाँकी रहँदा सुनसरी–२ र ४ मा प्रतिनिधि चयनको विवाद समाधान हुन नसक्दा दुवै क्षेत्रका नेताहरूको सहभागिताबारे अन्योल कायमै छ।