कांग्रेस महाधिवेशन : नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान

Logo
Popular News बिहिबार, आश्विन २२, २०८३

इनरुवा, २२ असोज  । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ।

केन्द्रीय निर्वाचन समितिका अनुसार मतदान बिहान १० बजेदेखि सुरु हुनेछ। यसअघि बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका रहे पनि बिहानीपखको वर्षा र केही प्राविधिक कारणले मतदानको समय तीन घण्टा पछि सारिएको हो।

केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले वर्षा तथा प्राविधिक तयारीका कारण मतदान बिहान १० बजेदेखि सुरु गर्न लागिएको जानकारी दिनुभयो।

महाधिवेशनमा देशभरबाट सहभागी ७ हजार २५५ जना प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्। मतदानबाट पार्टीको नयाँ सभापतिसहित केन्द्रीय कार्यसमिति चयन हुनेछ।

मतदानलाई व्यवस्थित र छिटोछरितो बनाउन काठमाडौंका तीन स्थानमा सातवटा मतदान केन्द्र निर्धारण गरिएको छ। कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिका लागि खुलामञ्चमा मतदान केन्द्र तोकिएको छ। भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिले पनि खुलामञ्चमै मतदान गर्नेछन्।

त्यस्तै, बागमती प्रदेशका प्रतिनिधिका लागि राष्ट्रिय सभागृह तथा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि प्रज्ञा भवनमा मतदान केन्द्र निर्धारण गरिएको छ।

सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर परिचयपत्र र नामावली रुजु गराएपछि मात्र मतदान गर्न पाउने निर्वाचन समितिले जनाएको छ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि हुने आजको मतदानलाई महाधिवेशनको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800