इनरुवा, ५ मंसिर । प्रहरीहरूको उत्प्रेरणा अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित ‘स्वस्थ शरीर, स्वच्छ मस्तिष्क कार्यक्रम–२०८३’ अन्तर्गत मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ।
शनिबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरीहरूबीच उक्त प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगिताको मुख्य उद्देश्य प्रहरी कर्मचारीहरूको शारीरिक स्वास्थ्य तथा मानसिक तन्दुरुस्ती कायम राख्नुका साथै आपसी सद्भाव, एकता र टोलीगत भावनाको विकास गर्नु रहेको थियो।
कार्यक्रममार्फत प्रहरीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै दैनिक कार्यसम्पादनमा सकारात्मक ऊर्जा, अनुशासन, उत्साह र उत्प्रेरणा थप्ने अपेक्षा गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरी कर्मचारीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यलाई प्राथमिकता दिँदै सञ्चालन गरिएको यस कार्यक्रमले स्वस्थ जीवनशैली, आपसी सहकार्य र संगठनात्मक एकतालाई थप मजबुत बनाउने विश्वास लिइएको छ।