इनरुवा, ५ मंसिर । सुनसरीको दुहबीमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।
मंसिर ५ गते बिहान दुहबी नगरपालिका–७ भलुवास्थित भित्री सडकमा चेकजाँच गर्ने क्रममा प्रहरीले २१ किलो ९८० ग्राम गाँजासहित एक युवकलाई पक्राउ गरेको हो।
प्रदेश १–०२–०५३ प ४७२९ नम्बरको मोटरसाइकलमा नहर चोकबाट भलुवातर्फ आउँदै गरेका धरान उपमहानगरपालिका–२० निवासी २१ वर्षीय गौरव राईलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
मोटरसाइकल चालक राईले बोकेको झोला जाँच गर्ने क्रममा गाँजाजस्तो देखिने पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीले बरामद गाँजा, मोटरसाइकल र चालक राईलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।