इनरुवा, २२ असोज । सुनसरीको इटहरी उपमहानगरपालिका–१९ अमाहा चोकबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा इटहरी–१९ पटेरुवा बस्ने १९ वर्षीय अमन चौधरी रहेका छन्।
प्रहरीका अनुसार बुधबार साँझ करिब ६ः३० बजे अमाहा चोकमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT र प्रहरी चौकी तरहराबाट संयुक्त रूपमा खटिएको टोलीले पकलीबाट अमाहातर्फ आउँदै गरेको प्रदेश १–०४–००१ प २७९० नम्बरको स्कुटर रोकेर चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा चौधरीको साथबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ ५ सय मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले चौधरीलाई उक्त पदार्थ र स्कुटरसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।