इनरुवा, २४ कार्तिक । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना), म्ह पूजा तथा गोवर्धन पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गर्नुभएको नेपाल संवत् चन्द्रमामा आधारित नेपालको मौलिक समयचक्र र पहिचान भएको बताएका छन्।
उनले नेवार समुदायमा हर्षोल्लासपूर्वक मनाइने म्ह पूजाको सांस्कृतिक तथा आध्यात्मिक महत्त्वसमेत उल्लेख गरेका छन्। ‘म्ह’ अर्थात् आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर अष्टचिरञ्जीवीको प्रतीक मण्डपमा आफैँले आफैँलाई पूजा गर्ने परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउने उनको भनाइ छ।
यस मौलिक परम्पराले नेवार समुदायभित्र आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको संरक्षण गर्दै जातीय एकतालाई अझ प्रगाढ बनाएको उनले उल्लेख गरेका छन्।
त्यस्तै, भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर द्वारिकावासीलाई बचाउनुभएको पौराणिक मान्यतासँग जोडिएको गोवर्धन पूजाको पनि विशेष महत्त्व रहेको प्रधानमन्त्री शाहले बताएका छन्।
यस अवसरमा कृषिकर्मका सहयात्री गोरुलाई पिठो, नुन र बावर खुवाउनुका साथै हलो, फालीलगायत कृषि औजारको पूजा गरी गोवर्धन पूजा तथा हली तिहार मनाउने परम्परा रहेको उनले स्मरण गरेका छन्।
प्रधानमन्त्री शाहले देउसी–भैलोका सांस्कृतिक परम्पराले छरछिमेकमा आपसी आत्मीयता र सद्भाव बढाउने उल्लेख गर्दै मौलिक चाडपर्वले रिसराग बिर्सेर सामाजिक एकता र सहिष्णुताको भावना बलियो बनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।