इनरुवा, २७ कार्तिक । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार भएको ईभी माइक्रोबस दुर्घटनामा मृत्यु भएका १४ जनाको शव अझै हेटौंडा अस्पतालमै रहेको छ। मृतकका आफन्तले क्षतिपूर्ति, रोजगारी र घाइतेको उपचारको व्यवस्था लगायतका माग राख्दै शव बुझ्न अस्वीकार गरेका छन्।
मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने तथा घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने आफन्तको माग छ।
माग सम्बोधन नभएसम्म शव नबुझ्ने अडान आफन्तले लिएका छन्। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरले शव गाउँसम्म पठाउन आवश्यक आन्तरिक तयारी गरे पनि आफन्तहरू शव बुझ्न तयार भएका छैनन्।
यसैबीच, दुर्घटनामा आफ्ना स्थानीय नागरिकको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आज शुक्रबार शोक बिदा दिएको छ।
गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।
गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवद्वारा जारी सूचनाअनुसार शुक्रबार गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थाबाहेकका नियमित सेवा प्रवाह हुने कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालयलगायत गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयमा एक दिनका लागि शोक बिदा दिइएको छ।
शोक बिदाका दिन स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक स्वास्थ्य सेवा भने नियमित रूपमा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।
त्यस्तै, दुर्घटनामा ज्यान गुमाएका प्रत्येक व्यक्तिका परिवारलाई गाउँपालिकाको तर्फबाट जनही ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णयसमेत गरिएको छ।
भीमफेदी दुर्घटनामा चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका मात्रै एक गर्भवती महिलासहित १३ जनाको मृत्यु भएको छ। छठ पर्व मनाउन घर फर्किंदै गरेका आफन्तको दुर्घटनामा मृत्यु भएपछि सुन्दरपुर गाउँ शोकमा डुबेको छ।