कोसी प्रदेशबाट दुई सय ५३ खेलाडीले अन्तर प्रदेशस्तरीय खेलकुदमा प्रतिस्पर्धा गर्ने

Logo
Popular News शनिबार, चैत्र २४, २०८०

इनरुवा, २४ चैत्र । चितवनमा आइतबार देखि सुरु हुने अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा कोसी प्रदेशबाट खेलाडीहरु प्रतिस्पर्धा गर्ने  भएको छ । अन्तर प्रदेशस्तरीय खेलकुदमा दुई सय ५३ खेलाडीले कोशी प्रदेशबाट प्रतिस्पर्धा गर्ने भएका छन् ।

कोसी प्रदेशका प्रतियोगितामा सहभागी हुन खेलाडीहरू आज चितवन प्रस्थान भएको छ । इटहरी रंगशालामा कोसी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्की, प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंसराज वाग्ले, उपाध्यक्ष बिन्दिया कार्की लगायतले खेलाडीहरूलाई बिदाइ गरे पश्चात प्रस्थान भएका हुन् ।

कोसी प्रदेशका विभिन्न जिल्लाबाट छनौट भएर आएका खेलाडीहरू एक साता यता इटहरी रङ्गशालामै बन्द प्रशिक्षणमा रहेका थिए । महिला क्रिकेट र स्विमिङका खेलाडी भने चितवन पुगिसकेका छन् ।

आज महिला तथा पुरुष फुटबलतर्फ ४०, भलिबलका २८, तेक्वान्दोका २५, एथलेटिक्समा ३९, करातेमा २४, बक्सिङमा १७ र ब्याडमिन्टनमा ८ जना गरी एक सय ८१ खेलाडी चितवन प्रस्थान भएका हुन् । खेलाडीहरूलाई बिदाइ गर्दै कोसी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले प्रदेशको मात्र नभएर सिङ्गो राष्ट्रको नाम राख्ने गरी खेल्न आग्रह गरे ।

चितवनमा आइतबारदेखि आगामी वैशाख १ गतेसम्म बाग्मती प्रदेशको आयोजनामा अन्तर प्रदेश खेलकुद प्रतियोगिता सञ्चालन हुँदैछ । चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ् ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल, कराते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरी ९ खेलको प्रतिस्पर्धा हुने छ । पुरुष फुटबल बाहेक सबै खेल चितवनमा हुने आयोजकले जनाएको छ ।पुरुष फुटबल हेटौडास्थित गौरी टार रंगशालामा हुने छ ।

अन्तर प्रदेशस्तरीय प्रतियोगितामा एक सय ३६ स्वर्ण, एक सय ३६ रजत र एक सय ८४ कांस्यका लागि प्रतिस्पर्धा हुने छ ।सातै प्रदेशका १ हजार ५ सय ४७ खेलाडी सहभागी हुने भएको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

छिटै आउदै छ

सम्पर्क

025-566800