

इनरुवा, ११ जेठ । काशी गाउँपालिकाले सामुदायिक बिद्यालयको गुणस्तर सुधारका लागि अग्ररता देखाएको छ । गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले शिक्षा क्षेत्र सुधारका लागि आफू कम्प्रोमाइज नगर्ने बताएका छन् ।
कोशी गाउँपालिका अन्तर्गतका सामुदायिक तथा धार्मिक बिद्यालयको अनुगमन तथा मूल्यांकन बारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा उनले शिक्षा क्षेत्र सुधारका लागि आफूले अग्रसरता लिने तर कमप्रमाइज नगर्ने बताएका हुन ।
गाउँपालिकाले प्रध्यानाध्यापक, व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक र सरोकारवालासँग छलफल गर्दै शिक्षकलाई सक्रिय बनाउने, विद्यार्थी नभएका विद्यालयलाई गाभ्ने, विद्यालय व्यवस्थापन समितिलाई सक्रिय बनाउने, शिक्षकको सरुवा र पदस्थापन गर्ने, सामुदायिक विद्यालयमै अंग्रेजी माध्यमको पढाइ सुरु गर्ने र जनप्रतिनिधिले समयसापेक्ष शिक्षा क्षेत्रको अनुगमन गर्ने गरी काम थाल्न अध्यक्ष अन्सारीले निर्देशन दिए ।
संविधानले स्थानीय तहलाई दिएको अधिकार प्रयोग गरी सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पहल गर्दै आएको उनको दाबी छ । सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको खस्कँदो मोहलाई बढाउन आफूले शिक्षा ऐन र नियमावली निर्माण गरी सुधारको पहल थालेको समेत उनले बताए ।
गाउँपालीका क्षेत्रमा संचालित सामुदायिक विद्यालयमध्ये श्री राष्ट्रिय माद्यामिक बिद्यालय शोभनपूरमा अंग्रेजी माध्यमबाट पढाइ थालिएको र अन्य सामुदायिक बिद्यालयमा यसको सुरुवात गर्ने आफ्नो योजना रहेको अध्यक्ष अन्सारीले जानकारी दिए ।