इनरुवा, १ मंसिर । नेपाली क्रिकेटको महोत्सवका रूपमा स्थापित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आज (मंसिर १) देखि सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो पटक फ्लडलाइटमा खेल हुने ऐतिहासिक क्षण समेत आजकै दिन दर्ज हुनेछ।
उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज आमनेसामने हुँदैछन्। यी दुई टोलीबीच एनपीएलमा यो दोस्रो भिडन्त हो। पहिलो संस्करणमा जनकपुरले काठमान्डुलाई ५ विकेटले पराजित गरेको थियो।
आजको खेल दिउँसो ४ बजेबाट सुरु हुनेछ, र यो नेपाली क्रिकेट इतिहासमै पहिलो फ्लडलाइट खेल हो।
एनपीएल दोस्रो संस्करणका सबै खेल त्रिवि मैदानमै हुनेछन्। क्यानका अनुसार, कुल ३२ खेल हुने लिगमा ९ खेल दिउँसो र २३ खेल डे–नाइट मा खेलाइनेछ। लिग चरण, प्लेअफ र फाइनलसहित प्रतियोगिता मंसिर २७ गतेसम्म जारी रहनेछ।