इनरुवा, ५ मंसिर । सुनसरीको कोशी गाउँपालिकामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
कोशी गाउँपालिका कार्यालयको समन्वयमा, पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल अस्पताल पकली तथा नोबेल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरको सहकार्यमा गरिएको शिविरमा पाँच सयभन्दा बढी स्थानीय नागरिकले स्वास्थ्य सेवा लिएका छन् ।
सशस्त्र प्रहरी बलद्वारा सञ्चालन गरिएको शिविरमा सामान्य स्वास्थ्य परीक्षणदेखि उपचारसम्मका सेवा प्रदान गरिएको थियो । साथै आवश्यक व्यक्तिहरूलाई निःशुल्क औषधि वितरण समेत गरिएको बाहिनीपति कुमार न्यौपानेले जानकारी दिनुभयो ।
गरिब तथा विपन्न वर्गलाई लक्षित गरी सञ्चालन गरिएको स्वास्थ्य शिविरमा स्थानीय बासिन्दाको बाक्लो उपस्थिति रहेको थियो । गाउँमै निःशुल्क उपचार पाउँदा धेरैले खुशी व्यक्त गरेका छन् ।
सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रका नागरिकसँग सहकार्य गर्दै सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ ।