इनरुवा, १२ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति र काठमाडौंका पूर्वमेयर बालेन शाहको सामाजिक सञ्जाल स्टाटसले निर्वाचन सरगर्मीसँगै राजनीतिक माहौल थप तातिएको छ। विशेषगरी मधेशलाई हेप्ने आशयका ओलीका भनाइ र त्यसको प्रतिउत्तरमा आएको बालेनको कडा प्रतिक्रियाले व्यापक बहस सिर्जना गरेको छ।
गत ६ माघमा उम्मेदवारी दर्ताका लागि झापा पुगेका ओलीले एक अन्तर्वार्ताका क्रममा बालेन लक्षित गर्दै दिएका केही अभिव्यक्तिलाई लिएर सर्वत्र आलोचना भइरहेको छ। बालेनको व्यक्तिगत क्षमता र निष्ठामाथि प्रश्न उठाउने क्रममा ओलीले क्षेत्र विशेष र समुदायको भावनामा चोट पुग्ने खालका शब्द प्रयोग गरेको आरोप लागेको छ।
ओलीले अन्तर्वार्तामा भनेका थिए, “दमक सफा र व्यवस्थित नगरमध्ये पर्छ। यो महोत्तरी–धनुषा जस्तो अवस्थामा होइन, त्योभन्दा धेरै एडभान्स छ।” यस्तै, उनले बालेनलाई संकेत गर्दै “उहाँ त्यो कल्चरबाट आएको मान्छे, अब यहाँ आएर गुइँठा बाल्न सिकाउनु हुन्छ कि के गर्नु हुन्छ, मलाई थाहा छैन” भन्ने अभिव्यक्ति दिएका थिए।
यी भनाइप्रति चर्को आलोचना भइरहेको छ। विशेषगरी मधेश प्रदेशका एमाले नेताहरू नै ओलीको अभिव्यक्ति बचाउ गर्न असहज अवस्थामा परेको देखिन्छ। मधेशका एमाले नेताहरू भन्छन्, “चारपटक प्रधानमन्त्री भइसकेका व्यक्तिले कुनै जिल्ला वा समुदायलाई अपमानित हुने गरी बोल्नु हुँदैनथ्यो। चुनावको बेला यस्तो अभिव्यक्तिले हामीलाई अप्ठ्यारोमा पारेको छ।”
मधेशी समुदायले भने यसलाई ओलीको मधेश र मधेशीप्रतिको दृष्टिकोणको स्पष्ट चित्रण भएको टिप्पणी गरेका छन्।
यसैबीच, ओलीले फेसबुक स्टाटसमार्फत भावी प्रधानमन्त्रीका उम्मेदवारहरु बिच बहसका लागि आफू तयार रहेको सन्देश दिएका थिए। तर बालेन शाहले ओलीसँग एउटै मञ्च साझा गर्न अस्वीकार गरेका छन्। ओलीकै स्टाटसमा प्रतिक्रिया जनाउँदै बालेनले गम्भीर आरोप दोहोर्याएका छन्।
“ आतंकवादी भनेर कहिले स्वीकार गर्ने हो ? त्यसपछि अरू कुरा गरौँला,” बालेनले लेखेका छन्।
बालेनले ‘जेन–जी विद्रोह’का क्रममा ७६ बालबालिकाको हत्या भएको आरोप लगाउँदै ओलीलाई ‘हत्यारा’ सम्म भनेका छन्। “७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ,” बालेनको स्टाटसमा उल्लेख छ।
ओलीले पनि बालेनप्रति आक्रामक टिप्पणी गर्दै ‘देश जलाउने र देश बनाउने’ बीचको प्रतिस्पर्धाको सन्दर्भ उठाएका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार ओलीले आफ्नो सान्दर्भिकता कायम राख्न चर्का अभिव्यक्तिमार्फत राजनीतिक ध्रुवीकरण गर्ने प्रयास गरेको हुन सक्छ। सुरक्षा व्यवस्थाप्रति निरन्तर अविश्वास व्यक्त गर्नु, प्रतिस्पर्धीबीच घृणाको भावना बढाउनु र चुनावप्रति शंका उत्पन्न गर्ने गतिविधिले ओलीमाथि थप प्रश्न उठेको विश्लेषकहरूको भनाइ छ।
यद्यपि, मुलुकलाई स्थायित्वतर्फ लैजाने गरी अघि बढिरहेको चुनावी प्रक्रियालाई बिथोलिन नदिने वातावरण बनाउनु सबै जिम्मेवार नेताहरूको साझा दायित्व भएको उनीहरूको जोड छ। नेताहरूको सार्वजनिक अभिव्यक्तिप्रति निर्वाचन आयोगले समयमै खबरदारी गर्न आवश्यक रहेको विश्लेषकहरूले बताएका छन्।