इनरुवा, १६ माघ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले विभिन्न संघर्षबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्ने नाममा विगतका राज्यसत्ताहरूले गम्भीर बेइमानी गरेको आरोप लगाएका छन्। उनले अबको परिवर्तन सत्ताका लागि मात्र नभई नयाँ पुस्ताको उज्ज्वल र सुनिश्चित भविष्यका लागि आवश्यक रहेको स्पष्ट पारे।
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सप्तरी क्षेत्र नं. ३ का उम्मेदवारका रूपमा चुनावी अभियानमा रहेका अध्यक्ष यादवले देश र जनताको चाहना तथा आवश्यकताअनुसार संविधान संशोधन वा पुनर्लेखन गर्नुपर्नेमा जोड दिए। नयाँ पुस्ताको भविष्य संविधानमै सुरक्षित हुनुपर्ने उनको भनाइ थियो।
‘आजको नेपाल पुरानै संवैधानिक संरचनामा अड्किएको छ, जसले न स्थायित्व दिएको छ, न न्याय,’ जसपा नेपालद्वारा सार्वजनिक प्रतिबद्धता पत्रलाई उल्लेख गर्दै यादवले भने, ‘राजनीतिक अस्थिरता, कमजोर संघीयता र पहिचानको अभावका कारण युवा पुस्ताको भविष्य अन्योलमा परेको छ।’
उनले शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा आमूल परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रिय समस्याहरूको समाधानका लागि संविधान संशोधन वा पुनर्लेखन अपरिहार्य भएको बताए।
अध्यक्ष यादवले राज्य पुनर्संरचना उच्चस्तरीय आयोग–२०६८ को प्रतिवेदनअनुसार राष्ट्रिय जातीय पहिचान झल्कने गरी पहिचानसहितका १०+ १ प्रदेश संरचना लागू गराउन जसपा नेपाल अडिग रहेको पनि स्पष्ट गरे।
संघीयता र नयाँ पुस्ताको परिवर्तनको मागविरुद्ध कुनै सम्झौता नहुने उल्लेख गर्दै उनले भने, ‘संघीयतालाई कागजमा सीमित होइन, व्यवहारमै लागू गर्ने हाम्रो दृढ अडान हो।