काठमाडौं, २२ माघ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा एकै चरणमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गरेकी छन्।
बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेस अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन तोकिएकै समयमा र एकै चरणमा सम्पन्न हुने स्पष्ट पारिन्। उनले निर्वाचन दुई चरणमा नहुने भन्दै सबैलाई निश्चिन्त रहन आग्रह गरिन्।
प्रधानमन्त्री कार्कीले निर्वाचनको समयमा देशभरको मौसमसमेत अनुकूल रहने विश्वास व्यक्त गर्दै सबै मतदाताले निर्वाध रूपमा मतदान गर्न पाउने वातावरण बनाइने बताइन्।
‘ढुक्क र निश्चिन्त हुनुस्। एकैदिनमा चुनाव हुन्छ। दुई पटक हुनेवाला छैन। तोकिएकै मितिमा हुन्छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘मलाई लाग्छ मौसम पनि राम्रो हुनेछ। हामी सबैले सहज रूपमा मतदान गर्न पाउनेछौँ। निर्वाचित प्रतिनिधि सभालाई सरकार हस्तान्तरण गरेर हामी आफ्नो घर फर्कन्छौँ।’
उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोग तथा आयुक्तहरूको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै धन्यवाद समेत व्यक्त गरिन्।