इनरुवा, १५ चैत । केपी शर्मा ओली र रमेश लेखक लाई थुनामा राखेर अनुसन्धान अघि बढाउन अदालतले ५ दिनको म्याद थप गरेको छ ।
जिल्ला अदालत काठमाडौं का न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले आइतबार उक्त आदेश दिएको हो । अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार सरकारी वकिलले १० दिन म्याद माग गरे पनि अदालतले ५ दिन मात्र अनुमति दिएको हो ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन सम्बन्धी घटनामा अनुसन्धान भइरहेको छ । उक्त आन्दोलनका बेला ओली प्रधानमन्त्री तथा लेखक गृहमन्त्रीको जिम्मेवारीमा थिए ।
उक्त घटनाबारे छानबिन गर्न गठित आयोगले दुवै जनाविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा पक्राउ पुर्जी जारी गरी शनिबार बिहान उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
अदालतमा आइतबार रमेश लेखक स्वयं उपस्थित भएका थिए भने केपी शर्मा ओली भने स्वास्थ्य अवस्थाका कारण त्रिवि शिक्षण अस्पताल मार्फत भर्चुअल रूपमा उपस्थित भएका थिए ।