सुनसरीका सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, नयाँ जिम्मेवारी तोकियो

Logo
Popular News सोमबार, साउन ११, २०८३

इनरुवा, ११ साउन । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको साम्प्रदायिक झडपपछि गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित कोशी प्रदेशका प्रमुख सुरक्षा अधिकारीहरूको जिम्मेवारी परिवर्तन गरेको छ।

गृह मन्त्रालयको निर्णयअनुसार सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई फिर्ता बोलाइएको छ। उनको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई सुनसरी पठाइएको छ।

त्यसैगरी, कोशी प्रदेश प्रहरी कार्यालयका डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको छ भने उनको स्थानमा शेखर खनाललाई खटाउने निर्णय भएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) केशव थेबेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सरुवा गरिएको छ। उनको स्थानमा विमानस्थलमा कार्यरत पुष्पराज मल्ललाई सुनसरी पठाइएको छ।

सशस्त्र प्रहरी बलको कप्तानगञ्जस्थित युनिटमा कार्यरत डीएसपी नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ। उक्त युनिटको नेतृत्व अब डीएसपी मदन नाथले गर्नेछन्।

गत शनिबार देवानगञ्ज–३ कप्तानगञ्जमा भएको झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा ९ जना सर्वसाधारण, नेपाल प्रहरीका १० जना र सशस्त्र प्रहरीका १० जना गरी २९ जना घाइते भएका छन्।

घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। साथै, थप अप्रिय घटना हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800