सुनसरीको कर्फ्यु हटाइयो, हरिनगर र देवानगञ्जमा निषेधाज्ञा कायम

Logo
Popular News मंगलबार, साउन १२, २०८३

इनरुवा, १२ साउन। जिल्ला प्रशासन कार्यालय सुनसरीले साउन ११ गते राति ९ बजेदेखि लागू गरेको अनिश्चितकालीन कर्फ्यु आदेश हटाएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार कर्फ्यु आज बिहान १२:१५ बजेदेखि हटाइएको हो।

यद्यपि हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा भने निषेधाज्ञा जारी गरिएको छ। प्रशासनका अनुसार बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म लागू हुने निषेधाज्ञा अवधिमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न निषेध गरिएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी गरिएको आदेशअनुसार सुरक्षा अवस्था सामान्य बनाउन निषेधाज्ञा कायम राखिएको प्रशासनले जनाएको छ।

यसअघि केन्द्रीय सुरक्षा समितिको निर्णयपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवा नगरपालिका–३ र ६ को पूर्वी सीमादेखि महेन्द्र राजमार्गअन्तर्गत घोपाली टोल, पश्चिमतर्फ कोशी ब्यारेजको पुल तथा राजमार्गको उत्तर र दक्षिणतर्फ २०० मिटर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो।

देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति हिन्दु र मुस्लिम समुदायबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। उक्त घटनामा थप ९ जना स्थानीयसहित करिब दुई दर्जन व्यक्ति घाइते भएका थिए।

घटनापछि सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो। हाल कर्फ्यु हटाइए पनि संवेदनशील क्षेत्रहरूमा निषेधाज्ञा कायम राखिएको प्रशासनले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800