इनरुवा, १२ साउन। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समिति बुधबार घटनास्थल पुग्ने भएको छ।
गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले सोमबार राति काठमाडौंबाट विराटनगर पुगेर छानबिन प्रक्रिया सुरु गरेको हो। समितिले पहिलो चरणमा उपचाररत घाइतेसँग भेटघाट गरी घटनाबारे प्रारम्भिक जानकारी संकलन गरेको थियो। त्यसपछि प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका अधिकारी, सञ्चारकर्मी तथा अन्य सरोकारवालासँग छलफल गर्दै घटनाका विभिन्न पक्षबारे जानकारी लिएको छ।
समितिका संयोजक थापाका अनुसार मंगलबार प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद आचार्य, जिल्ला प्रहरी प्रमुख तथा सञ्चारकर्मीसँग छलफल गरी घटनाको प्रारम्भिक विवरण संकलन गरिएको छ। अब बुधबार समिति प्रत्यक्ष रूपमा घटनास्थल पुगेर स्थलगत निरीक्षण गर्ने, प्रत्यक्षदर्शी तथा स्थानीयसँग भेटघाट गर्ने र थप प्रमाण संकलन गर्ने कार्यक्रम रहेको छ।
थापाले समितिले सात दिनभित्र छानबिन सम्पन्न गर्ने लक्ष्य राखेको जानकारी दिँदै घटनास्थलको निरीक्षण, प्रत्यक्षदर्शी तथा पीडितको बयान, सुरक्षा निकायबाट प्राप्त विवरण, उपलब्ध प्रमाण र सरोकारवालाको धारणा अध्ययन गरी घटनाको वास्तविकता सार्वजनिक गरिने बताए। साथै, घटनामा संलग्न वा जिम्मेवार देखिएका व्यक्तिमाथि आवश्यक कानुनी कारबाहीका लागि सरकारसमक्ष सिफारिस गरिने पनि उनले बताए।
सरकार घटनाको सत्यतथ्य सार्वजनिक गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन प्रतिबद्ध रहेको उल्लेख गर्दै थापाले सोही उद्देश्यका साथ समिति सक्रियतापूर्वक काम गरिरहेको बताए।
उक्त पाँच सदस्यीय समितिमा नेपाल प्रहरीका विपिन रेग्मी, सशस्त्र प्रहरीका विक्रम होमागाई तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका शालीग्राम भण्डारीलगायत सदस्य रहेका छन्।