इनरुवा, १९ साउन। सुनसरीका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद आर्यालले देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज गोलीकाण्डका क्रममा घाइते भई उपचाररत अवस्थामा मृत्यु भएका रवीन्द्रकुमार मेहताका परिवारले पूर्वसहमतिअनुसार नै राज्यबाट राहत तथा सहायता प्राप्त गर्ने बताएका छन्।
जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार सूचना जारी गर्दै मृतकका परिवारलाई सरकारले यसअघि भएको सहमतिअनुसार राहत उपलब्ध गराइने स्पष्ट पारेको हो। साथै प्रशासनले सबै पक्षलाई संयमता अपनाउन र शान्ति कायम राख्न आग्रह गरेको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, काठमाडौंमा उपचारका क्रममा मंगलबार २१ वर्षीय रवीन्द्रकुमार मेहताको मृत्यु भएपछि उनका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्। उनीहरू गृहमन्त्री सुधन गुरुङसँग प्रत्यक्ष भेट र थप आश्वासनको माग गर्दै शव नबुझ्ने अडानमा छन्।
गम्भीर घाइते रहेका मेहतालाई थप उपचारका लागि विराट नर्सिङ होमबाट गत शुक्रबार काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको बायाँ खुट्टा काट्नुपरेको भए पनि अवस्था सुधार हुन नसक्दा मंगलबार उनको निधन भएको हो।
यसअघि १० साउनमा भएको गोलीकाण्डमा प्रहरीले चलाएको गोली लागेर १० जना गम्भीर घाइते भएका थिए। घटनामा देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको सोही दिन मृत्यु भएको थियो भने देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा गत बिहीबार विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको थियो।
ती घटनापछि गृहमन्त्री सुधन गुरुङ र पीडित परिवारबीच मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने, परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गर्ने, स्थानीय तहसँग समन्वय गरी स्मृति पार्क निर्माण गर्ने लगायत सात बुँदे सहमति भएको थियो।
उक्त घटनामा गोली लागेर घाइते भएका अन्य सात जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रशासनले जनाएको छ।
