इनरुवा, १५ असोज । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति सभापति पदका लागि आज निर्वाचन हुँदैछ। सभापति पदमा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहता र रामधुनी नगरपालिकाका कांग्रेस नेता सुदिप अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ।
इनरुवा–३ स्थित ओम साई पार्टी प्यालेसमा निर्वाचनको व्यवस्था गरिएको छ। सभापति पदका अर्का उम्मेदवार सुमन थापाले उम्मेदवारी फिर्ता लिएपछि मेहता र अधिकारीबीच प्रतिस्पर्धा निश्चित भएको हो।
निर्वाचनको पूर्वसन्ध्यामा मेहताको पक्षमा माहौल रहेको उनका समर्थक क्षेत्रीय प्रतिनिधिहरूले दाबी गरेका छन्। केही प्रतिनिधिहरूले संगठन निर्माणमा मेहताले गरेको योगदान, सक्रियता र लामो समयदेखिको राजनीतिक भूमिकाका कारण उनी बलियो अवस्थामा रहेको बताएका छन्।
समर्थकहरूले मेहता यसअघि दुई पटक नेपाली कांग्रेस इनरुवा नगर सभापति भएर संगठन विस्तारमा भूमिका खेलेको उल्लेख गर्दै त्यसको प्रभाव क्षेत्रीय प्रतिनिधिहरूबीच पनि देखिएको दाबी गरेका छन्। उनीहरूले मेहताको संगठन निर्माणमा रहेको सक्रियताकै कारण आफू तथा वर्तमान इनरुवा नगर प्रमुख केदार भण्डारी नगरप्रमुखमा निर्वाचित हुन सफल भएको दाबीसमेत गरेका छन्।
यसअघि मेहताले सुनसरीका कांग्रेसका अग्रज नेता तथा क्षेत्रीय प्रतिनिधिहरूलाई सहमतिका आधारमा आफूलाई निर्विरोध निर्वाचित हुने वातावरण बनाउन आग्रह गरेका थिए। तर, सहमति जुट्न नसकेपछि सभापति पदका लागि निर्वाचन हुन लागेको हो।
मेहता यसअघि इनरुवा नगरपालिकाको नगरप्रमुखका रूपमा एक कार्यकाल जिम्मेवारी सम्हालिसकेका छन्। हाल उनी जिल्ला समन्वय समिति सुनसरीका प्रमुख छन् भने जिल्ला समन्वय समिति महासंघका राष्ट्रिय अध्यक्षसमेत रहेका छन्।
यता सभापति पदका अर्का उम्मेदवार सुदिप अधिकारीले पनि रामधुनी क्षेत्रमा पार्टी संगठनमा काम गर्दै आएका छन्। उनी रामधुनी नगरपालिकाका कांग्रेस नगर सभापतिका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन्।
क्षेत्रीय सभापति चयनका लागि हुन लागेको निर्वाचनमा दुवै उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएपछि सुनसरी–२ को कांग्रेस राजनीतिमा निर्वाचनलाई चासोका साथ हेरिएको छ। निर्वाचनको परिणामले आगामी दिनमा क्षेत्रीय कांग्रेस संगठनको नेतृत्व र राजनीतिक गतिविधिमा प्रभाव पार्ने देखिन्छ। निर्वाचनमा करिब १ हजार १५२ जना क्षेत्रीय प्रतिनिधि सहभागी हुने जनाइएको छ।