इनरुवा, १५ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नम्बर २ मा अवरुद्ध भएको मतदान प्रक्रिया पुनः सुरु गर्ने सहमति भएको छ।
उम्मेदवारका प्यानलको सूचीसहितको चिट बोकेर मतदान गर्न जान नपाउने र मतदानस्थलमा रहेका प्रतिनिधिहरूले मतदान गर्न पाउने गरी सहमति जुटेको हो।
प्यानलको चिट बोकेर मतदान गर्ने विषयलाई लिएर उम्मेदवारका पक्षबीच विवाद बढेपछि मतदान प्रक्रिया अवरुद्ध भएको थियो। विवाद समाधानका लागि भएको छलफलपछि निर्वाचन प्रक्रिया अघि बढाउने सहमति भएको हो।
सहमति भएसँगै रोकिएको मतदान प्रक्रिया पुनः सञ्चालन गर्ने बाटो खुलेको छ। निर्वाचनस्थलमा अहिलेसम्म ५०० मत खसिसकेको छ। कुल मतदातामध्ये झण्डै आधा मत खस्न बाँकी रहेको जनाइएको छ।