चिट विवादपछि सुनसरी–२ कांग्रेसको मतदान स्थगित, सहमतिबाट नेतृत्व चयन गर्ने तयारी

Logo
Popular News बिहिबार, आश्विन १५, २०८३

इनरुवा, १५ असोज। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा चिट विवादका कारण अवरुद्ध भएको मतदान प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ। मतदान स्थगित भएसँगै क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अन्योलमा परेको छ।

बिहीबार बिहान ८ बजेदेखि अपराह्न ३ बजेसम्मका लागि तोकिएको मतदानका क्रममा उम्मेदवारहरूको प्यानल सूचीसहितको चिट बोकेर मतदान गर्न पाउने वा नपाउने भन्ने विषयमा विवाद उत्पन्न भएपछि निर्वाचन प्रक्रिया प्रभावित भएको थियो।

विवाद समाधानका लागि उम्मेदवार, निर्वाचन समितिका पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधिबीच छलफल भएको थियो। छलफलपछि प्यानल सूचीको चिट मतदानस्थलभित्र लैजान नपाउने सर्तमा मतदान पुनः सुरु गर्ने सहमति भएको थियो। तर, सहमतिपछि पनि निर्वाचन प्रक्रिया अघि बढ्न नसकेपछि मतदान स्थगित गर्ने निर्णय गरिएको हो।

निर्वाचन समितिले मतदान अधिकृतको हस्ताक्षरसहित सूचना जारी गर्दै विशेष परिस्थितिका कारण निर्वाचन कार्यक्रम सञ्चालन गर्न असमर्थ रहेको जनाएको छ। सूचनामा अर्को जानकारी जारी नभएसम्मका लागि मतदान कार्य स्थगित गरिएको उल्लेख छ। उक्त सूचनामा क्षेत्रीय सभापति पदका उम्मेदवारद्वय राजन मेहता र सुदीप अधिकारीले समेत हस्ताक्षर गरेका छन्।

यसैबीच, नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले सभापतिका उम्मेदवारद्वय राजन मेहता र सुदीप अधिकारीबीच सहमतिमा नेतृत्व चयन गर्ने समझदारी भएपछि निर्वाचन स्थगित गरिएको जानकारी दिएका छन्।

भण्डारीका अनुसार क्षेत्रीय सभापतिसहित क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिहरूको चयनसमेत सहमतिका आधारमा गर्ने तयारी गरिएको छ। त्यसका लागि सर्वमान्य समिति गठन गरी सोही समितिमार्फत पदाधिकारी तथा प्रतिनिधि चयनको प्रक्रिया अघि बढाइने उनले बताए।

समिति गठन र सहमतिका आधारमा नेतृत्व चयन गर्ने विषयमा अब छलफल अघि बढाइने पनि सभापति भण्डारीले जानकारी दिएका छन्।

सुनसरी–२ मा क्षेत्रीय सभापति पदका लागि राजन मेहता र सुदीप अधिकारीबीच प्रतिस्पर्धा रहेको थियो। मतदान स्थगित भएसँगै अब सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रक्रिया कसरी अघि बढ्छ भन्ने चासो बढेको छ।

मतदान प्रक्रिया स्थगित हुनुअघि करिब ५०० मत खसिसकेका थिए। कुल मतदातामध्ये झण्डै आधाभन्दा बढी प्रतिनिधिले मतदान गर्न बाँकी नै थियो।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800