विराटनगर, १७ असोज। सुविन भट्टराईद्वारा लिखित चर्चित उपन्यास ‘समर लभ’ मा आधारित नाटक आजदेखि विराटनगरमा मञ्चन हुँदैछ।
पूर्वका दर्शकको मागपछि कान्तिपुर थिएटरले असोज १७ र १८ गते विराटनगरस्थित वीरेन्द्र सभागृहमा नाटक मञ्चन गर्न लागेको हो। दुई दिनसम्म प्रत्येक दिन तीनवटा शो सञ्चालन हुने आयोजकले जनाएको छ।
नाटक मञ्चनका लागि सभागृहमा स्टेज निर्माण, प्रकाश, ध्वनि तथा अन्य प्राविधिक तयारी पूरा भइसकेको कान्तिपुर थिएटरले जनाएको छ।
कान्तिपुर थिएटरको यो छैटौँ नाट्य प्रस्तुति हो। सम्राट भुजेलको नाट्य रूपान्तरण तथा निर्देशनमा तयार भएको ‘समर लभ’ ले अतीत र सायाको प्रेमकथा, युवा जीवन, सम्बन्ध, भावना र विछोडका विभिन्न आयामलाई रंगमञ्चमार्फत प्रस्तुत गर्छ।
नाटकमा सागर खनालले अतीत शर्मा र बास्ना तिमल्सिनाले साया शाक्यको भूमिका निर्वाह गरेका छन्। चलचित्र निर्देशक तथा अभिनेता अर्पण थापाले पहिलोपटक रंगमञ्चमा अभिनय गरेका छन्। त्यस्तै, विनिता गिरी, रक्षा गौतम, सनम श्रेष्ठ र जानकी बजगाईंसहितका कलाकारको अभिनय रहेको छ।
काठमाडौंमा मञ्चन हुँदा ‘समर लभ’ ले दर्शकको उल्लेख्य चासो पाएको थियो। नाटकका सुरुवाती शोहरूमा समेत अग्रिम बुकिङ भएको समाचार सार्वजनिक भएको थियो। करिब दुई घण्टाको प्रस्तुतिमा संवाद, प्रकाश, संगीत र दृश्य संयोजनमार्फत उपन्यासको कथालाई रंगमञ्चमा उतारिएको छ।
यसअघि विराटनगरमा कान्तिपुर थिएटरले प्रस्तुत गरेको ‘सेतो धरती’ नाटकले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको थियो। सोही प्रस्तुतिको निरन्तरतास्वरूप ‘समर लभ’ विराटनगर ल्याउन लागिएको कान्तिपुर थिएटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश पुरीले जानकारी दिए।
नेपाली रंगमञ्चलाई काठमाडौं बाहिरका दर्शकमाझ विस्तार गर्ने उद्देश्यले विभिन्न सहरमा नाटक प्रस्तुत गर्ने तयारी भइरहेको पुरीले बताए। उनले विराटनगरमा मञ्चन हुन लागेको ‘समर लभ’ हेर्न सम्पूर्ण दर्शकलाई निमन्त्रणा गरेका छन्।
आयोजकका अनुसार असोज १७ र १८ गते प्रत्येक दिन बिहान ११ बजे, दिउँसो २ बजे र साँझ ५ बजे गरी तीनवटा शो सञ्चालन हुनेछन्। नाटकको टिकट मूल्य ३००, ५०० र १ हजार रुपैयाँ तोकिएको छ।