इनरुवा, ३१ असोज । सुनसरीको पूर्व–पश्चिम राजमार्गअन्तर्गत इनरुवा नगरपालिका–४ स्थित बसचोकमा ट्रकको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।
शनिबार दिउँसो पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को.२५ प ३७४९ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको लु.२ ख ६९१२ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार इनरुवा नगरपालिका–९, बबियाकी रीतादेवी यादवको मृत्यु भएको हो। अन्दाजी ४५ वर्षीया यादव ट्रकको ठक्करपछि सडकमा लडेकी थिइन्। त्यसपछि ट्रकको चक्काले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन्।
दुर्घटनालगत्तै घटनास्थल पुगेको नेपाल प्रहरीको टोलीले शवलाई पोस्टमार्टमका लागि एम्बुलेन्समार्फत अस्पताल पठाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।