इनरुवा, ४ कार्तिक । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ मा प्रतिबन्धित लागुऔषधका ट्याब्लेटसहित मोटरसाइकल बरामद भएको छ। घटनालाई लिएर प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ।
सुनसरी प्रहरीले विशेष सूचनाका आधारमा सुरक्षाकर्मी परिचालन गरी लागुऔषधका ट्याब्लेटसहित मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ। घटनास्थलबाट मोटरसाइकल र प्रतिबन्धित लागुऔषधका ट्याब्लेट बरामद गरिएको तथा घटनामा संलग्न भनिएका व्यक्ति फरार रहेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, स्थानीयले भोक्राहा नरसिंह गाउँपालिका–२ का वडाध्यक्ष आलम अन्सारीका छोरा जिशान अन्सारीलाई फसाउने उद्देश्यले सुनियोजित रूपमा मोटरसाइकलमा लागुऔषध राखिएको आरोप लगाएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
यस विषयमा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल आजादले पनि सामाजिक सञ्जालमार्फत लागुऔषध बरामद भएको घटनाबारे जानकारी पाएको बताएका छन्। उनले घटनाको वास्तविकता बुझ्ने प्रयास गरिरहेको जानकारी दिएका छन्।