इनरुवा,९ कार्तिक । सुनसरीको इटहरीमा ठूलो परिमाणमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट ६ हजार १८० क्याप्सुल ट्रामाडोल, ७ हजार ट्याब्लेट स्पास्पेनप्रो र दुई बोतल डेक्स्ट्रोमेथोर्फान हाइड्रोब्रोमाइड बरामद गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतवार साँझ करिब ६ बजे इटहरी उपमहानगरपालिका–१३ स्थित ओम शान्ति भवनमा लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी चौकी खनार, अस्थायी प्रहरी कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले शङ्काका आधारमा सवारीसाधन जाँच गर्ने क्रममा तीन जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार हरिनगर गाउँपालिका–७ निवासी १८ वर्षीय अब्दुल खानले चलाएको प्रदेश १–०२–००१ ह ६४८० नम्बरको सिटी सफारीमा सवार १८ वर्षीय मोतिम आलम पनि पक्राउ परेका छन्। त्यस्तै, सोही स्थानका १८ वर्षीय सोजिब खानले चलाएको को ३६ प ६४२३ नम्बरको मोटरसाइकल जाँच गर्दा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट ६ हजार १८० क्याप्सुल ट्रामाडोल, ७ हजार ट्याब्लेट स्पास्पेनप्रो र दुई बोतल डेक्स्ट्रोमेथोर्फान हाइड्रोब्रोमाइड बरामद गरेको जनाएको छ।
बरामद लागूऔषधसँगै सिटी सफारी र मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ। पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।