इनरुवा बजारको सडक नाला बेहाल, दुर्गन्धले व्यापारी तथा सर्वसाधारणलाई सास्ती

Logo
Popular News आइतबार, कार्तिक ०९, २०८३

इनरुवा, ८ कार्तिक । सुनसरीको इनरुवा बजारको मुख्य क्षेत्र गोलचोकदेखि दक्षिणतर्फ कौवाखोज जाने सडक लामो समयदेखि निर्माण हुन सकेको छैन। सडक निर्माणमा ढिलाइ, अव्यवस्थित नाला, थुप्रिएको फोहोर र नालामाथि ढकन नहुँदा स्थानीय व्यापारी तथा सर्वसाधारणले सास्ती भोग्दै आएका छन्। तर, बजार क्षेत्रको यो समस्याप्रति स्थानीय सरकारको ध्यान पुग्न सकेको छैन।

इनरुवा बजार हुँदै जिल्ला समन्वय समिति, प्रदेश प्रहरी अस्पताल, शिक्षा विकास तथा समन्वय इकाइ र अन्य सरकारी कार्यालय पुग्ने यो सडक स्थानीयका लागि महत्वपूर्ण आवागमन मार्ग हो। सडकको पूर्वतर्फ जाने सहायक मार्ग बालमन्दिर विद्यालय, नेपाल रेडक्रस सोसाइटीको कार्यालय तथा बिहीबारे हाट जाने बाटोसँग जोडिएको छ। यही सडक इनरुवा नगरपालिका–२ हुँदै सत्तेरझोरा भएर विराटनगरतर्फ जाने मार्गका रूपमा समेत प्रयोग हुँदै आएको छ।

तर, यति महत्वपूर्ण सडकको अवस्था भने निकै कमजोर छ। सडकको दुवैतर्फ रहेका नालाको नियमित सफाइ नहुँदा दुर्गन्ध फैलिएको छ। कतिपय स्थानमा नालामाथि ढकनसमेत नहुँदा पैदलयात्री दुर्घटनाको जोखिममा छन्। नाला वरिपरि बाँसका भाटा राखेर जोखिम कम गर्ने प्रयास गरिएको दृश्यले बजारको अव्यवस्थालाई झनै स्पष्ट पारेको छ।

इनरुवा नगरपालिका–२ अन्तर्गत पर्ने मुख्य सडकको दुवैतर्फका नालाको अवस्था कमजोर रहेको छ। नालामा फोहोर थुप्रिनु, पानी जम्नु र ढकन नहुनुले बजार क्षेत्रको वातावरण दुर्गन्धित बनेको छ। यसले स्थानीय व्यापार व्यवसायमा असर पार्नुका साथै सर्वसाधारणलाई समेत असहज बनाएको छ।

स्थानीयका अनुसार बालमन्दिर जाने बाटोदेखि जिल्ला समन्वय समितिसम्मको करिब ६ सय मिटर सडक बजार क्षेत्रकै महत्वपूर्ण हिस्सा हो। सडक निर्माण भएको छ वर्षभन्दा बढी समय बितिसक्दा पनि सडकपेटी व्यवस्थापन, नालाको सरसफाइ र सुरक्षित ढकनी जडानजस्ता आधारभूत काम हुन नसकेको उनीहरूको गुनासो छ।

बिहीबारे हाट लाग्ने दिन यस क्षेत्रमा हजारौँ मानिसको आवागमन हुन्छ। बजार र हाट जाने सडकको यस्तो अवस्थाले सर्वसाधारणलाई थप समस्या पारेको छ। सडकको दुर्दशा, खुला नाला र दुर्गन्धका कारण बजारको सौन्दर्यमा समेत नकारात्मक असर परेको छ।

यस क्षेत्र आसपास जिल्ला समन्वय समिति, प्रदेश प्रहरी अस्पताल, भूमि सुधारसम्बन्धी कार्यालय तथा अन्य सरकारी निकाय रहेका छन्। दैनिक रूपमा जनप्रतिनिधि, सरकारी कर्मचारी र विभिन्न क्षेत्रका व्यक्तिहरूको आवागमन हुने यस क्षेत्रमा समेत सडक र नालाको उचित व्यवस्थापन नहुनुले स्थानीय तहको कार्यसम्पादनमाथि प्रश्न उठाएको छ।

अव्यवस्थित नालामा फोहोर र पानी जम्दा जनस्वास्थ्य तथा वातावरणमा प्रत्यक्ष असर पर्न सक्ने जनस्वास्थ्य विज्ञ डा। सुरेश मेहता बताउँछन्। उनका अनुसार जमेको पानी लामखुट्टेको प्रजननस्थल बन्न सक्ने भएकाले यसले लामखुट्टेबाट सर्ने रोगको जोखिम बढाउन सक्छ। त्यसैले नालाको नियमित सफाइ, पानीको उचित निकास र फोहोर व्यवस्थापन आवश्यक छ।

लामो समयदेखि समस्या कायम रहँदा पनि यसको समाधानका लागि प्रभावकारी पहल नभएको भन्दै स्थानीय व्यापारी तथा सर्वसाधारण असन्तुष्ट छन्। उनीहरूले सडक निर्माणलाई प्राथमिकता दिन, नालाको नियमित सरसफाइ गर्न, खुला नालामा सुरक्षित ढकनी लगाउन तथा बजार क्षेत्रको फोहोर व्यवस्थापन गर्न इनरुवा नगरपालिकासँग माग गरेका छन्।

स्थानीय सरकारको जिम्मेवारी कर उठाउनेमा मात्र सीमित हुँदैन। नागरिकले दैनिक रूपमा भोगिरहेका समस्या समाधान गर्नु, बजारलाई सफा राख्नु र सुरक्षित आवागमन सुनिश्चित गर्नु पनि उत्तिकै महत्वपूर्ण दायित्व हो।

बजारको सडक र नाला व्यवस्थापन केवल सहरको सौन्दर्यसँग सम्बन्धित विषय मात्र होइन। यो नागरिकको सुरक्षित आवागमन, व्यापार व्यवसायको सहज सञ्चालन र सार्वजनिक स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो। त्यसैले इनरुवा नगरपालिकाले समस्यालाई बेवास्ता नगरी आवश्यक बजेट, योजना र नियमित अनुगमनमार्फत तत्काल ध्यान दिन जरुरी छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800