इनरुवा, ८ कात्तिक। सुनसरीको इनरुवाबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबार दिउँसो २ बजे इनरुवा नगरपालिका–४ स्थित बसचोकमा खटिएको अस्थायी प्रहरी पोष्ट बसपार्कको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
लौकहीबाट इनरुवातर्फ पैदल आउँदै गरेका बराहक्षेत्र नगरपालिका–७ का २७ वर्षीय कुशल घिमिरे, ३२ वर्षीय तुलसी खड्का र इटहरी उपमहानगरपालिका–९ का ३२ वर्षीय मुकेश भुजेललाई शंका लागेपछि प्रहरीले शरीर खानतलासी गरेको थियो।
खानतलासीका क्रममा घिमिरेले लुकाइछिपाइ ल्याएको ब्राउन सुगर जस्तो देखिने पदार्थ ७२० मिलिग्राम र भुजेलले ल्याएको ३ ग्राम ३० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ।
उनीहरूलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।