इनरुवा, २३ कात्तिक । पाकिस्तानकी टेलिभिजन प्रस्तोता तथा पत्रकार राबिया अहसानको गोली लागेर मृत्यु भएको छ। रावलपिण्डीस्थित आफ्नै निवासमा आइतबार उनी मृत अवस्थामा फेला परेकी हुन्।
४१ वर्षीया राबिया पाकिस्तानी निजी टेलिभिजन च्यानल ९२ न्युजमा प्रस्तोता तथा कार्यक्रम सञ्चालकका रूपमा कार्यरत थिइन्। उनी रावलपिण्डीको गुलशनाबादस्थित घरको कोठामा गोली लागेको अवस्थामा फेला परेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।
घटनापछि प्रहरीले उनका श्रीमान् अहसान ताहिरलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनामा प्रयोग भएको आशङ्कामा एउटा पेस्तोलसमेत बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। प्रारम्भिक सोधपुछका क्रममा उनका श्रीमान्ले गोली दुर्घटनावश चलेको दाबी गरेको बताइएको छ। तर, मृतकका परिवारको उजुरीका आधारमा श्रीमान्विरुद्ध हत्या मुद्दा दर्ता गरिएको छ।
प्रहरीले घटनास्थलबाट प्रमाण सङ्कलन गरी शव पोस्टमार्टमका लागि अस्पताल पठाएको थियो। सोमबार स्थानीय अदालतले अनुसन्धानका लागि आरोपित श्रीमान्लाई दुई दिनको प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ।
यसैबीच, पाकिस्तानकी प्रथम महिला आसिफा भुट्टो जरदारीले पत्रकार राबियाको मृत्युमा दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष, पारदर्शी र गहन अनुसन्धान गर्न माग गरेकी छन्।
दुई छोरीकी आमा राबियाको निधनले पाकिस्तानी पत्रकारिता क्षेत्रमा शोक छाएको छ। उनका सहकर्मी तथा सञ्चारकर्मीहरूले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गर्न माग गरेका छन्।