तराई क्षेत्रमा भरद्वितीया पर्व मनाइँदै, दीपावली सम्पन्न

Logo
Popular News बुधबार, कार्तिक २६, २०८३

इनरुवा, २५ कार्तिक ।  तराई–मधेश क्षेत्रमा आज कात्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइको दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै भरद्वितीया पर्व मनाइँदै छ।

दीपावली पर्वको अन्तिम दिन मनाइने भैयादुजसँगै यस वर्षको दीपावली पर्व सम्पन्न हुँदैछ। कात्तिक कृष्ण त्रयोदशी अर्थात् धनतेरसबाट सुरु भएको दीपावली पर्व तिथिको घटबढका कारण यस वर्ष छ दिनसम्म मनाइएको हो। सामान्यतया पाँच दिन मनाइने यो पर्व यस वर्ष एक दिन लम्बिएको छ।

दिदीबहिनी आज दाजुभाइको पूजाको तयारीमा जुटेका छन्। यमपञ्चकको अन्तिम दिन कात्तिक शुक्ल द्वितीयामा दिदीबहिनीले दाजुभाइलाई घरमा निम्त्याएर पूजा गर्ने मैथिल परम्परा छ।  यस पर्वलाई भैयादुज, भरद्वितीया र भातृद्वितीया पनि भनिन्छ।

विवाहित दिदीबहिनीले दाजुभाइलाई आफ्नै घरमा निम्त्याएर पर्व मनाउने चलन छ भने अविवाहित दिदीबहिनी र दाजुभाइ एउटै घरमा बस्ने भएकाले आफ्नै निवासमा यो पर्व मनाउने गर्छन्।

पौराणिक मान्यताअनुसार सत्ययुगमा राजा बलिका बहिनी गङ्गा र यमुनाले दाजुको सौर्य, कल्याण र दीर्घायुको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिएको कथासँग यस पर्वको परम्परा जोडिएको छ।

दिदीबहिनीले घरमा पिठार अर्थात् पानीमा घोलिएको अरवा चामलको पिठोबाट अरिपन बनाउँछन्। अरिपनमा चतुर्भुज आकारको घेरा बनाइन्छ। त्यसपछि उक्त घेराभित्र काठको पिरामा दाजुभाइलाई बसाएर कोपरामा राखिएको तातोपानीले खुट्टा धुने परम्परा छ।

त्यसपछि दाजुभाइलाई अञ्जुली फैलाएर बस्न लगाई पिठार, पानको पात र सुपारी दिँदै सप्तरङ्गी टीका लगाइदिने चलन छ। पूजा विधि पूरा भएपछि दिदीबहिनीले गङ्गा र यमुनाको जस्तै वेग र कीर्ति दाजुभाइमा कायम रहोस् भन्ने कामनासहित परम्परागत गीत गाउँछन्।

पूजा सम्पन्न भएपछि दाजुभाइले दिदीबहिनीको आँचलमा नयाँ वस्त्र, आभूषण र नगद दक्षिणा राखिदिन्छन्। त्यसपछि दिदीबहिनीले दाजुभाइलाई मिठाई तथा मिष्ठान्न भोजन गराएर पर्व सम्पन्न गर्छन्।

यस पर्वको पूजाका लागि मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा द्वितीया तिथिको शुभसाइत निर्धारण गरिन्छ।

दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउने अन्य पर्व पनि प्रचलित छन्। साउन पूर्णिमामा मनाइने रक्षाबन्धन पर्व पनि दाजुभाइ र दिदीबहिनीबीचको प्रेम र सम्बन्धसँग जोडिएको छ।

त्यसैगरी कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म मनाइने सामाचकेवा पर्व भगवान् श्रीकृष्णका छोरा साम्ब र छोरी सामाबीचको प्रेम, स्नेह, समर्पण र त्यागको कथामा आधारित मानिन्छ।

यसरी भैयादुज पर्वले दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव, विश्वास र पारिवारिक आत्मीयतालाई अझ प्रगाढ बनाउने सांस्कृतिक महत्व बोकेको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800