हरिनगरमा छठ घाट तोडफोड, दुई जना पक्राउ

Logo
Popular News सोमबार, मंसिर ०१, २०८३

इनरुवा, ३० कार्तिक । सुनसरीको हरिनगर गाउँपालिका–६ घुस्कीस्थित टपरा अर्नमा घाटमा छठ पूजास्थल तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्थानीय १९ वर्षीय रिजवान मन्सुरी र २१ वर्षीय मोहम्मद जहुर मियाँ रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कात्तिक २९ गते साँझ करिब साढे ७ बजे श्रद्धालुहरू अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर घर फर्किएपछि पूजास्थलमा तोडफोड भएको थियो।

घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा परिचालन गरिएको थियो। सुरक्षाकर्मीहरूले मध्यरातमै स्थानीय प्रशासनको समन्वयमा क्षतिग्रस्त घाट पुनर्निर्माण गरी पूर्ववत् अवस्थामा ल्याएका थिए।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक पुष्पराज मल्लले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

घटनापछि घाट क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। छठ पर्वको अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन आवश्यक व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।

यसैबीच, छठ पूजास्थलमा भएको तोडफोडको विभिन्न सरोकारवालाहरूले भर्त्सना गर्दै दोषीमाथि कानुनअनुसार कारबाही गर्न माग गरेका छन्।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800