इनरुवा, २९ कार्तिक । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ५ सय ग्राम सेतो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ५२ वर्षीय भारतीय नागरिक रेवाज तिघरी रहेका छन्। थाइल्यान्डबाट काठमाडौं आएका उनलाई विमानस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बरामद हेरोइनको अनुमानित बजार मूल्य करिब २२ करोड रुपैयाँ रहेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट तिघरीले विभिन्न देशको भ्रमण गरेको र अन्तर्राष्ट्रिय लागुऔषध कारोबारको सञ्जालमा संलग्न रहेको खुलेको छ। बरामद हेरोइन भारत पुर्याउने उद्देश्यले ल्याइएको प्रहरीको भनाइ छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।