इनरुवा, २९ कार्तिक । सुनसरीको गढी गाउँपालिका–२ औराबनीस्थित इँटाभट्टा क्षेत्रबाट प्रहरीले १ लाख ६१ हजार ९ सय रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले हिजो साँझ करिब ७ बजे भन्सार छली गरी ल्याइएका लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरेको हो।
प्रहरीलाई देख्नासाथ नम्बर नखुलेको मोटरसाइकलमा सवार चालकले बोरा फालेर फरार भएको प्रहरीले जनाएको छ। फरार चालकले छाडेको बोराबाट लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरिएको हो।
बरामद सामान आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। फरार मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।