छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

Logo
Popular News आइतबार, कार्तिक ३०, २०८३

इनरुवा, २९ कार्तिक । आस्था, श्रद्धा र निष्ठाको पर्व छठको मुख्य दिन आज देशभरका जलाशय, नदी तथा पोखरी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ ।

चार दिनसम्म मनाइने छठ पर्वअन्तर्गत आज कार्तिक शुक्ल षष्ठीका दिन व्रतालुहरूले दिनभर निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गर्दै अर्घ्य दिने परम्परा छ । शुक्रबार नहाय–खाय विधिबाट सुरु भएको पर्व शनिबार खरना विधि सम्पन्न भएसँगै आज मुख्य पूजाको चरणमा पुगेको हो ।

छठ पर्वमा सूर्यदेव र छठी माताको विशेष पूजा गरिन्छ । परिवारको सुख, शान्ति, समृद्धि तथा सन्तानको दीर्घायु र कल्याणको कामना गर्दै व्रतालुहरूले कठोर नियम पालना गरी यो पर्व मनाउने गर्छन् ।

धार्मिक मान्यताअनुसार महाभारतकालमा द्रौपदीसहित पाँच पाण्डवले अज्ञातवास सफल होस् भन्ने कामनासहित सूर्यदेवको आराधना गरेका थिए । त्यस्तै, सूर्य पुराणमा अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेको उल्लेख छ । त्यसयता छठ मनाउने परम्परा सुरु भएको धार्मिक विश्वास रहिआएको छ ।

छठ पर्वमा सूर्यलाई जीवन, ऊर्जा र प्रकृतिको प्रमुख स्रोतका रूपमा पूजा गरिन्छ । सूर्यको प्रकाशबाट नै पृथ्वीमा वनस्पति, जीवजन्तु तथा सम्पूर्ण प्राणीको अस्तित्व सम्भव भएको विश्वासका आधारमा सूर्य उपासनालाई यस पर्वमा विशेष महत्व दिइन्छ ।

पर्वको पहिलो दिन नहाय–खाय विधिमा व्रतालुले स्नान गरी शुद्ध भोजन गर्ने गर्छन् । दोस्रो दिन खरना विधिअन्तर्गत सखरबाट बनाइएको खीर तथा अन्य प्रसाद छठी मातालाई अर्पण गरी ग्रहण गरिन्छ । त्यसपछि सुरु हुने निर्जला व्रत मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएसँगै विशेष पूजामा परिणत हुन्छ ।

आज साँझ व्रतालुहरूले विभिन्न नदी, पोखरी, तलाउ तथा जलाशयमा पुगेर बाँसका सामग्री र पूजाका प्रसादसहित सूर्यदेवलाई अर्घ्य दिनेछन् । रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व विधिवत् सम्पन्न हुनेछ ।

धार्मिक विश्वासअनुसार विधिपूर्वक सूर्यको आराधना गरी अर्घ्य दिएमा चर्मरोगबाट मुक्ति मिल्ने तथा परिवारमा सुख, शान्ति र समृद्धि कायम हुने जनविश्वास छ ।

तराई–मधेसमा परम्परागत रूपमा विशेष उत्साहका साथ मनाइँदै आएको छठ पर्व पछिल्लो समय पहाडी तथा हिमाली क्षेत्रसहित देशभर फैलिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800