इनरुवा, ३० कार्तिक । स्थानीय तहको निर्वाचन आगामी चैत महिनाको पहिलो साताभित्र गर्ने गरी निर्वाचन आयोगले आन्तरिक तयारी र राजनीतिक परामर्शलाई तीव्रता दिएको छ। निर्वाचनको मिति तय गर्नुअघि राजनीतिक दलहरूसँग छलफल गरेर आवश्यक वातावरण निर्माण गर्ने आयोगको योजना छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले संविधान र प्रचलित कानुनी व्यवस्थाअनुसार नै निर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।
निर्वाचन प्रक्रियालाई सहज बनाउन आयोगले मंसिर ४ गते राजनीतिक दलका प्रतिनिधिहरूलाई छलफलका लागि आमन्त्रण गरेको छ। उक्त छलफलमा निर्वाचनको वातावरण, आवश्यक पूर्वतयारी तथा समयतालिकाका विषयमा विचारविमर्श हुने जनाइएको छ।
प्रवक्ता भट्टराईका अनुसार राजनीतिक दलहरूसँगको छलफलपछि निर्वाचनसम्बन्धी थप निर्णयमा पुगिनेछ। आयोगले चैत महिनाभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित तयारी अघि बढाएको छ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ मा गाउँसभा वा नगरसभाका सदस्यको कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ। संवैधानिक व्यवस्थाअनुसार निर्वाचन आयोगको सिफारिसमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने प्रावधान रहेको छ।