इनरुवा, ५ मंसिर । दैलेखमा सामान्य घरायसी विवादका क्रममा एक व्यक्तिले आफ्नै श्रीमती र तीन छोराछोरीमाथि बन्चरो प्रहार गर्दा श्रीमतीसहित दुई छोराछोरीको मृत्यु भएको छ भने एक बालक गम्भीर घाइते भएका छन्।
प्राप्त विवरणअनुसार शनिबार बिहान करिब ९:३५ बजे ३८ वर्षीय अम्मर सलामी मगरले आफ्नै श्रीमती ३५ वर्षीया मनिषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र सलामी, ६ वर्षीय छोरा मिलन सलामी र ३ वर्षीया छोरी करिष्मा सलामीमाथि दाउरा काट्ने बन्चरोले टाउकोमा प्रहार गरेका थिए।
घाइते चारै जनालाई उपचारका लागि दुल्लु नगर अस्पताल, दैलेख लगिएको थियो। अस्पतालमा चिकित्सकले १२ वर्षीय तपेन्द्र र ३ वर्षीया करिष्मालाई मृत घोषणा गरेका थिए।
गम्भीर घाइते मनिषा र मिलनलाई थप उपचारका लागि बिहान ११:५५ बजे प्रदेश अस्पताल कालागाउँ, सुर्खेत रिफर गरिएको थियो। उपचारकै क्रममा दिउँसो २:१० बजे चिकित्सकले मनिषालाई पनि मृत घोषणा गरेका छन्।
घटनाबारे स्थानीयले बिहान १० बजे प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनामा संलग्न अम्मर सलामी मगरलाई घटनामा प्रयोग गरिएको बन्चरोसहित नियन्त्रणमा लिएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।