इनरुवा, ६ मंसिर । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो सिजनमा पहिलोपटक उपाधि जितेको छ। शनिबार भएको फाइनल खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो।
भेट्रान स्कटिस ब्याटर जर्ज मुन्सीले सानदार शतक बनाएपछि सुदूरपश्चिमले १ सय ५६ रनको लक्ष्य १३ दशमलव ३ ओभरमै बिना विकेटको क्षतिमा पूरा गरेको थियो। मुन्सीले अविजित १ सय १९ रन बनाउँदा विनोद भण्डारीले पनि उत्कृष्ट साथ दिएका थिए। दुवैबीच पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी भएको थियो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो।
लगातार तेस्रोपटक फाइनल खेलेको सुदूरपश्चिमले यसपटक उपाधि जित्दै अघिल्ला दुई सिजनको फाइनल हारको पीडालाई बिर्साएको छ। पहिलो सिजनमा जनकपुर बोल्ट्ससँग र दोस्रो सिजनमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले यसपटक भने शानदार पुनरागमन गरेको हो।
यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहले एनपीएलको छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने तयारीस्वरूप आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत सुदूरपश्चिम रोयल्सलाई च्याम्पियन बनेकोमा बधाई दिँदै आठवटै क्लबका लागि छुट्टाछुट्टै क्रिकेट रंगशाला निर्माण गरिने जानकारी दिएका हुन्।
सरकारको योजनाअनुसार विराटनगर किंग्सका लागि बैजनाथपुर क्रिकेट रंगशाला, लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला, कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रंगशाला र सुदूरपश्चिम रोयल्सका लागि फाप्ला क्रिकेट रंगशाला निर्माण गरिनेछ।
त्यस्तै, काठमाडौँ गोर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान, पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रंगशाला, जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रंगशाला र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशालालाई घरेलु मैदानका रूपमा विकास गर्ने योजना छ।
प्रधानमन्त्री शाहका अनुसार फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सातवटै रंगशालाको निर्माण प्रक्रिया पनि अघि बढाइनेछ। ती रंगशाला सरकारको पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिने जनाइएको छ।
आठवटै क्लबका लागि फ्लडलाइटयुक्त रंगशाला निर्माण गर्ने योजना कार्यान्वयन भएमा नेपाली क्रिकेटमा घरेलु मैदानको अवधारणा विकास हुनुका साथै एनपीएललाई होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।