इनरुवा, ७ मंसिर । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा भारतले नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उक्त सहयोग घोषणा गरेका हुन् ।
नेपालले भारतसँग २ खर्ब भारु आर्थिक सहयोग माग गरेको थियो । नेपालले १ खर्ब भारु सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) र १ खर्ब भारु अनुदान उपलब्ध गराउन अनुरोध गरेकोमा भारतले मागभन्दा बढी सहयोग घोषणा गरेको हो ।
यद्यपि, घोषित सहयोगमध्ये कति रकम अनुदान र कति सहुलियतपूर्ण ऋणका रूपमा उपलब्ध गराइने भन्ने विवरण सार्वजनिक गरिएको छैन ।
नेपालले माग गरेको अनुदान रकममध्ये ५० अर्ब भारु रसुवा क्षेत्रमा बाढीपछि भएको क्षतिको पुनर्निर्माणमा खर्च गर्ने प्रस्ताव गरेको थियो । त्यस्तै, बुटवल–पोखरा एक्सप्रेस वे निर्माणका लागि थप ५० अर्ब भारु सहयोग माग गरिएको थियो । तर, भारतले घोषित सहयोग कुन आयोजना तथा क्षेत्रमा कति रकम उपलब्ध गराउने भन्ने स्पष्ट पारेको छैन ।
भारतले यसअघि नेपालका लागि चारवटा लाइन अफ क्रेडिट घोषणा गरिसकेको छ । तर, विभिन्न सर्तका कारण ती ऋणको पूर्ण उपयोग हुन सकेको छैन । नेपालले दुई वर्षअघि सन् २०२४ मा ९० करोड अमेरिकी डलर बराबरको लाइन अफ क्रेडिट रद्द गरेको थियो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा नेपाल भ्रमणका क्रममा १ अर्ब अमेरिकी डलर सहयोग घोषणा गरेका थिए । सन् २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पपछि उक्त सहयोगलाई भूकम्पपछिको पुनर्निर्माणका लागि उपयोग गर्ने गरी रूपान्तरण गरिएको थियो ।
त्यसमध्ये २५ करोड अमेरिकी डलर अनुदान र ७५ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋणका रूपमा छुट्याइएको थियो । अनुदान रकम भूकम्पपछिको पुनर्निर्माणमा खर्च भए पनि ऋणतर्फ छुट्याइएको ७५ करोड डलरमध्ये करिब ५ करोड डलर मात्रै उपयोग हुन सकेको थियो ।
भारतको लाइन अफ क्रेडिटबाट सञ्चालन हुने आयोजनामा ७५ प्रतिशत वस्तु भारतबाटै खरिद तथा उपयोग गर्नुपर्ने प्रावधानका कारण ऋण उपयोगमा कठिनाइ भएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । यसै कारण भारतले प्रतिबद्धता गरेको करिब ८५ अर्ब भारु बराबरको ऋण उपयोग हुन नसकेको बताइएको छ ।
अर्थ मन्त्रालय स्रोतका अनुसार, नेपालले पहिले प्रतिबद्धता गरिएको ९० करोड अमेरिकी डलर उपयोग हुन नसकेपछि सन् २०२४ मा रद्द गरेको थियो । त्यसमा करिब १० करोड डलर थप गरी १ खर्ब भारु बराबरको नयाँ लाइन अफ क्रेडिट घोषणा गर्न नेपालले अनुरोध गरेको थियो ।