

सुनसरी , २१ असार । राष्ट्रिय परिक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्राविधिक धारतर्फको सुनसरीका विद्यालयको नतिजा अझै सार्वजनिक भएको छैन ।
राष्ट्रिय परीक्षा बोर्डले एसईई नतिजा १३ असारमा सार्वजनिक गरेपनि प्राविधिकतर्फको नतिजा सार्वजनिक नभएको हो । सुनसरी जिल्लाको १० वटा विद्यालयका २६६ जना विद्यार्थीको नतिजा अझैसम्म पनि सार्वजनिक भएको छैन ।
जनता माध्यमिक विधालय रामधुनीका प्रधानाध्यापक धनिकलाल मेहताले परीक्षा नियन्त्रण कार्यालयले हालसम्म पनि नतिजा सार्वजनिक नगर्दा अभिभावक र विधार्थीहरुको प्रेसर थाम्न नसक्ने अवस्थामा पुगेको बताए । उनले ग्रेडवृद्धि परीक्षा तालिका समेत सार्वजनिक गरिसक्दा पनि नतिजा हेर्न नपाउँदा विद्यार्थी, अभिभावक, शिक्षक सबैलाई मानसिक तनाव भईरहेको बताए ।
प्रधानाध्यापक मेहताका अनुसर सुनसरीका प्राविधिक धारका विद्यालयको मात्रै अझै नतिजा सार्वजनिक नभएको हो । अरु जिल्लाहरुको नतिजा सार्वजनिक भईसकेको छ ।
परीक्षा नियन्त्रक कार्यालयका अनुसार केहि बिषयको कोड फरक परेकोले नतिजा सार्वजानिक हुन नसकेको हो ।
अव मिलिसक्यो । इन्ट्री गरिसक्यौ । बोर्डले निर्णय गरेपछि नतिजा सार्वजनिक हुने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।’