

विराटनगर, ७ असोज । प्रहरीले विराटनगरबाट स्रोत नखुलेको १४ लाख ५० हजार नेपाली रुपैयाँ सहित एक यूवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारतबाट अवैध रूपमा ल्याइएको उक्त रकम मंगलबार दिउँसो १२ः४५ बजेतिर विराटनगर महानगरपालिका–१८ बस्ने ४१ वर्षीय वीरेन्द्र साहलाई प्रहरीले नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।
चुँडालका अनुसार अस्थायी प्रहरी पोस्ट मटेरुवाबाट खटिएको असई जागेन्द्र फुयाँल नेतृत्वको टोलीले शंकास्पद रूपमा नेपाल प्रवेश गरेको को ३८ प ५८५१ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।
मोटरसाइकल चालक साहको साथबाट लुकाइछिपाइ ल्याइएको रकम फेला परेको चुँडालको भनाइ छ । उनका अनुसार खानतलासीका क्रममा साहको साथबाट १ हजार रुपैयाँका २ सय ८४ र ५ सय रुपैयाँका २ हजार ३ सय ३२ नोट बरामद भएको छ । स्रोत प्रमाणित गर्न नसकेपछि साहलाई नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले थप अनुसन्धान सुरु गरेको छ । बरामद रकम अवैध हुण्डी कारोबारसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ ।