हरिनगरमा आगलागी हुँदा २ घर पूर्ण रूपमा जले, १ घरमा आंशिक क्षति

Logo
Popular News बुधबार, मंसिर १०, २०८३

इनरुवा, ९ मंसिर । सुनसरीको हरिनगर गाउँपालिका–४ स्थित हरिनगरामा आगलागी हुँदा २ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने अर्को १ घरमा आंशिक क्षति पुगेको छ। आगलागीबाट १० लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

बुधबार बिहान ११ः४५ बजे स्थानीय इस्राइल सिद्दिकीको घरबाट अचानक सल्किएको आगो फैलिँदा छिमेकी फारुक अन्सारी र आजाद अन्सारीको एक/एक वटा घर पूर्ण रूपमा जलेर नष्ट भएको हो। आगलागीका कारण आजाद अन्सारीको अर्को एक घरमा समेत आंशिक क्षति पुगेको स्थानीयले बताएका छन्।

आगलागीमा घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न, भाँडावर्तन, नगद, गरगहना तथा अन्य सरसामान जलेर नष्ट भएका छन्। पीडित परिवारले आँखै अगाडि घर र घरभित्रका सबै सामान जलेर खरानी भएको भन्दै दुःख व्यक्त गरेका छन्।

आगो लागेलगत्तै स्थानीयवासीले सक्रियता देखाउँदै करिब ४५ मिनेटमा आगो नियन्त्रणमा लिएका थिए। स्थानीयको प्रयासले आगो अन्य घर तथा बस्तीमा फैलिनबाट रोकिएको बताइएको छ।

यता, आगो नियन्त्रणमा आइसकेपछि मात्र देवानगञ्ज गाउँपालिकाको दमकल घटनास्थलमा पुगेको भन्दै स्थानीय तथा युवाहरू आक्रोशित बनेका थिए। उनीहरूले दमकल घेराउ गरी विरोध प्रदर्शन गर्नुका साथै तोडफोडको प्रयाससमेत गरेका थिए। तर स्थानीय अगुवा र नेपाल प्रहरीको समन्वयमा दमकललाई सुरक्षित रूपमा घटनास्थलबाट बाहिर निकालिएको थियो।

घटनाबारे प्रहरीले आगलागीमा कुनै मानवीय क्षति नभएको जनाएको छ। स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आइसकेको र आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आगलागीबाट घरबार तथा दैनिक उपभोग्य सामग्री गुमाएर बिचल्लीमा परेका पीडित परिवारलाई तत्काल राहत, खाद्यान्न तथा अस्थायी बसोबासको व्यवस्था मिलाउन स्थानीयवासीले हरिनगर गाउँपालिका र सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800