इनरुवा, १५ कात्तिक । नेपालमा हरेक वर्षजस्तै यस वर्ष पनि अविरल वर्षा र बाढीका कारण विभिन्न जिल्लाका किसानहरू गम्भीर रूपमा प्रभावित भएका छन्। पछिल्ला वर्षाको कारण सुनसरीका किसानले लगाएको धानबालीमा ठूलो क्षति पुगेको छ भने तरकारीबालीहरू पनि पानीले गर्दा नष्ट हुने अवस्थामा पुगेका छन्।
कृषिमा निर्भर जनताको जीविकोपार्जनमै ठूलो असर परेको स्थानीयवासीहरूले बताएका छन्। यस्तो विपत्तिमा तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाका उपायहरू अपनाउन सरकार र सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराइएको छ।
कृषकको पसिनाको फल माटोमा मिसिँदा देशको अर्थतन्त्र पनि प्रभावित हुन्छ, किनभने नेपालको कुल घरेलु उत्पादन (जीडीपी) को ठूलो अंश कृषिमा आधारित छ। किसानले उत्पादन गर्न नसक्ने अवस्थामा खाद्यान्न अभाव, मूल्यवृद्धि र आयातमा निर्भरता बढ्ने खतरा रहन्छ। त्यसैले किसानको क्षति केवल व्यक्तिगत पीडा नभई राष्ट्रिय समस्या हो।
सरकारले हरेक प्राकृतिक विपत्तिपछि सर्वेक्षण र राहत घोषणा गर्ने परम्परा बनाएको भए पनि यसको कार्यान्वयन ढिलो र असक्षम देखिएको किसानहरूको गुनासो छ। पीडित किसानले तत्काल बीउ, मल र औजार नपाउँदा अर्को बाली लगाउने समय नै गुमाउने अवस्था देखिएको छ।
राहतका रूपमा नगद सहयोग मात्र होइन, कृषिजन्य सामग्री, सस्तो ऋण सुविधा र कृषी बीमा प्रणालीलाई बलियो बनाउने दीर्घकालीन योजना आवश्यक छ। स्थानीय सरकारहरूले प्रभावित क्षेत्रको तथ्यांक संकलन गरी केन्द्रमा पठाउनुपर्ने र संघीय सरकारले तदनुसार पुनःस्थापना सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।
किसानहरूको मिहिनेत देशको मेरुदण्ड हो। उनीहरूलाई संकटको बेला राज्यले सघाए मात्र आत्मनिर्भर र समृद्ध नेपालको सपना साकार हुनसक्छ।
