काठमाडौं, १७ कार्तिक । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पार्टी विभाजन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा जारी गरिएको अन्तरिम आदेशलाई निरन्तरता दिइएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश जारी गरेको हो ।
राउतले रिटमार्फत निर्वाचन आयोगलाई जनमत पार्टीबाट अलग्गै दल दर्ता गराउने प्रक्रिया अगाडि नबढाउन माग गरेका थिए ।
यसअघि जनमत पार्टीभित्रको आन्तरिक मतभेदका कारण उपाध्यक्ष दीपक साहको नेतृत्वमा करिब २० प्रतिशत केन्द्रीय कार्यकारिणी सदस्यहरूले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।