इनरुवा, २ मंसिर । एनपीएलको दोस्रो संस्करण सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो पटक फ्लड लाइटअन्तर्गत सुरु भयो। उद्घाटन खेलमा काठमान्डु गोर्खाजले बलियो प्रदर्शन गर्दै डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गरेको छ।
जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमान्डु गोर्खाजले २ ओभर बाँकी छँदै सहज रूपमा पूरा ग¥यो। काठमाडौंका लागि ओपनर बेन चाल्र्सवर्थले तेज सुरुवात दिलाए। उनले २३ बलमा ५ चौका र ३ छक्कासहित ४६ रन बनाए। अर्का व्याट्सम्यान आकाश त्रिपाठीले पनि स्थिर इनिङ खेलेर ४५ बलमा ३९ रन योगदान दिए।
मिलिन्द कुमारले बलिङमा मात्र होइन, ब्याटिङमा पनि उपयोगी १९ रन जोडे। जोन सिमसन १३ रनमा भए पनि अन्त्यतिर आदिल अन्सारीले ४ बलमा ८ रन (१ छक्का) बनाएर टोलीलाई जितसम्म पु¥याए।
जनकपुरका किशोर महतो, अनिलकुमार साह, ललित राजवंशी, लोफ्टी इटन र सञ्जय कृष्णमूर्तिले एक–एक विकेट लिएका थिए।
यसअघि टस जितेर फिल्डिङ रोजेको काठमाडौंका बलरहरूले पहिलो इनिङमै दबाब सिर्जना गरेका थिए। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १३० रन मात्र जोड्यो। पहिलो चार ओभरमा ३३ रनको राम्रो सुरुवात पाए पनि पाँचौं ओभरमै जनकपुरले लगातार दुई विकेट गुमायो।
तेही ओभरका नायक बने—मिलिन्द कुमार। उनले ओपनर लाहिरु मिलान्थालाई विकेटकिपर सिमसनबाट क्याच गराएपछि अर्को बलमै कप्तान अनिलकुमार साहलाई शून्यमै आउट गराए। त्यसपछि उनले यान निकोल लोफ्टी इटनलाई २ रनमा बोल्ड गर्दै जनकपुरलाई थप दबाबमा राखे।
जनकपुरका लागि आसिफ शेखले ४१ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५४ रनको अर्धशतक बनाए। समाराकूनले २२ रन जोडे भने मयन यादवले अन्त्यसम्म नटआउट रहँदै ३४ रन बनाए।
बलिङतर्फ काठमाडौंका मिलिन्द कुमारले ३ विकेट लिए। करण केसी, सन्तोष यादव र शाहब आलमले एक–एक विकेट निकाल्दै उत्कृष्ट साथ दिए।
एनपिएलमा मंगलबार दुई खेल हुनेछन्। बिहान ११ः१५ बजे चितवन राइनोज र कर्णाली याक्स भिड्नेछन्। दिउँसो ४ बजे विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच रोमाञ्चक प्रतिस्पर्धा हुने कार्यक्रम छ।