इनरुवा, ३ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीमा एक मतदान केन्द्र थप गर्ने सिफारिस निर्वाचन आयोगमा पठाइएको छ।
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको संयोजकत्वमा रहेको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले धरान उपमहानगरपालिका–११ मा अत्यधिक मतदाता चाप रहेको भन्दै एक नयाँ मतदान केन्द्र थप गर्ने निर्णय गरेको हो।
निर्वाचन अधिकारी कृष्ण पौडेलका अनुसार धरान–११ मा रहेको ज्ञानोदय माध्यमिक विद्यालय, न्यूरोड मतदान स्थलमा मतदाताको अत्यधिक भीड रहेको पाइएपछि वडा सिफारिस समितिबाट आएको प्रस्तावलाई आधार मानेर प्रक्रिया अगाडि बढाइएको हो।
समितिले धरान–११ स्थित अनन्त शिक्षा आधारभूत विद्यालयमा मतदान केन्द्र संख्या २ कायम गर्दै १ हजार ७ सय ३ जना आंशिक मतदातालाई सार्ने सिफारिस सर्वसम्मत रूपमा गरेको पौडेलले जानकारी दिए।
सुनसरीको श्रीलंका टापु लगायतका केही स्थानीय तहले पनि मतदान केन्द्र थप्न माग गरे पनि सीमित श्रोत र साधनका कारण यस पटक थप्न नसकिएको र ती स्थानका मतदान स्थल यथावत् राख्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए।
बैठकले मतदान केन्द्र निर्धारणसम्बन्धी मापदण्डअनुसारको विवरण तयार गरी जिल्ला निर्वाचन कार्यालयमार्फत निर्वाचन आयोगमा पठाउने निर्णय समेत गरेको छ।