काठमाडौं, २१ मंसिर । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्ट्राचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरी २ का पूर्वप्रतिनिधी सभासदस्य भिम आचार्य सहितपाँच जना तत्कालीन मन्त्रीलगायत ५५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियारले दायर गरेको मुद्दामा झण्डै ८ अर्ब रुपैयाँ बिगो दाबी गरिएको छ। मुद्दामा तत्कालीन मन्त्रीहरू डा. रामशरण महत, पोषबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दिपक अमात्यलाई प्रतिवादी बनाइएको छ। साथै १० जना तत्कालीन सचिवहरू समेत प्रतिवादी बनाइएका छन्।
माओवादी नेता समेत रहेका पूर्वमन्त्री पोषबहादुर बोगटीको निधन भइसकेको छ। उनी घटनाकालमा पर्यटनमन्त्री थिए। कांग्रेस नेता रामशरण महत भने स्वास्थ्य समस्याका कारण सक्रिय राजनीतिबाट टाढा छन्।
झलनाथ खनालका व्यक्तिगत सचिव दिपक अमात्य पनि पर्यटनमन्त्री बनेका थिए। रामकुमार श्रेष्ठ भने खिलराज रेग्मी नेतृत्वको सरकारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को सिफारिसमा पर्यटन मन्त्री बनेका थिए।
एमाले नेता भीम आचार्य सुनसरी २ बाट विघटित प्रतिनिधिसभाका सदस्य हुन् । उनी एमालेको उपाध्यक्षका दाबेदार समेत मानिन्छन्। त्यसपछि झलनाथ खनालका निजी सचिव रहे दिपक अमात्य पर्यटनमन्त्री बनेका थिए।
रामकुमार श्रेष्ठ, खिलराज रेग्मी नेतृत्वको सरकारले माओवादी अध्यक्ष प्रचण्डको सिफारिसमा उनलाई पर्यटनमन्त्री बनाएको थियो। श्रेष्ठ यसअघि अख्तियारले दायर गरेको अवैध सम्पत्र् िअर्जन सम्बन्धी मुद्दामा विशेष अदालतबाट दोषी ठहर भइसकेका छन्।
अख्तियारले नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक रतिस चन्द्र लाल सुमन, तत्कालीन प्रोजेक्ट म्यानेजर र हाल क्यानका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसहित ५५जनामाथि मुद्दा दायर गरेको छ। त्यसैगरी तत्कालीन सचिव सुरेशमान श्रेष्ठ, कार्यालय संयोजक तथा सर्वोच्चका पूर्व रजिस्ट्रार रामकृष्ण तिमिल्सिनालगायत धेरै उच्च अधिकारी पनि यस प्रकरणमा मुछिएका छन्।