इनरुवा, २२ कार्तिक । आज नेपाली हिन्दू धर्मावलम्बीहरूले कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन मनाउँदैछन्। तिथि घटबढका कारण यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा एउटै दिन परेको हो।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्य आचार्य लक्ष्मण पन्थीका अनुसार आज बिहान कुकुरको पूजा गरेपछि साँझ लक्ष्मीपूजा गर्नुपर्नेछ।
कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाने बाटो सहज बनाइदिने धार्मिक विश्वास छ।
कुकुरलाई आज्ञापालक, इमानदार तथा घरको सुरक्षामा भरपर्दो जनावरका रूपमा समेत सम्मान गर्दै पूजा गर्ने परम्परा रहेको छ। हिन्दू धर्ममा कुकुरलाई यमराजको दूतका रूपमा पनि मानिन्छ।