इनरुवा, २० कात्तिक । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि धनतेरस मनाउँदै सुरु भएको छ। धनतेरसका दिन नयाँ गरगहना, सुनचाँदीका सिक्का तथा धातुका भाँडाकुँडा किनेर घरमा ल्याई पूजा गर्ने परम्परा रहेको छ।
त्रयोदशीकै दिन मनाइने कागपूजा र धन्वन्तरी जयन्ती भने भोलि शनिबार परेको छ। आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा र सोही दिन साँझ लक्ष्मीपूजा गरिनेछ। यस वर्ष कात्तिक २५ गते भाइटीका परेको छ।
चन्द्रमासअनुसार कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने तिहार यसपटक तिथिको घटबढका कारण छ दिनसम्म मनाइने भएको छ।
आज सूर्योदयका बेला द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी तिथि सुरु हुने भएकाले धनतेरस मनाउन लागिएको हो। आज बिहान ११ बजेर १० मिनेटपछि सुरु हुने त्रयोदशी तिथि भोलि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ।
मिथिला क्षेत्रमा कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिमा साँझपख दीपमालिका गर्ने चलनसमेत रहेको छ। यस दिन धातुका सामग्री, भाँडाकुँडा, गरगहना, खरेटो तथा धनियाँलगायतका सामग्री किन्ने परम्परा पनि रहेको छ।