इनरुवा, ४ पुस । सुनसरी जिल्लामा विगत एक वर्षको अवधिमा २१ जना बालिकामाथि बलात्कार भएका घटना सार्वजनिक गरिएको छ । मानव अधिकारका क्षेत्रमा कार्यरत संस्था इन्सेक (अनौपचारिक क्षेत्र सेवा केन्द्र) ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०८१ साल पौष १७ गतेदेखि २०८२ साल मङ्सिर २९ गतेसम्म जिल्लामा २१ जना बालिका बलात्कृत भएका हुन् ।
इन्सेकले हरेक वर्ष प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को पूर्व–वार्षिक समीक्षा कार्यक्रममा इन्सेक सुनसरीले उक्त तथ्याङ्क सार्वजनिक गरेका हुन् । सो अवधिमा महिला बलात्कारका १० घटना, हाडनाता करणी तथा बाल यौन दुव्र्यवहारका ७ घटना, तथा बलात्कार प्रयासका १५ घटना दर्ता भएका छन् । त्यसैगरी जेन्जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर २ जनाको मृत्यु, ७ जना घाइते, १५ जना गिरफ्तार, तथा १२ जना प्रहरी घाइते भएका छन् ।
यस्तै, पत्रकारमाथि कुटपिट तथा दुव्र्यवहारका ४ घटना, कर्मचारीमाथि कुटपिट २, अन्य पक्षद्वारा गोली हानी हत्या १, तथा विद्यार्थीमाथि यातनाका २ घटना भएको इन्सेकको तथ्याङ्कमा उल्लेख छ ।
बाँच्न पाउने अधिकार अन्तर्गत परिवार वा अन्य व्यक्तिबाट १० जनाको हत्या, बालिका अपहरण १, अपहरण तथा शरीर बन्धकका २ घटना, तथा साइबर अपराधका २ घटना दर्ता भएका छन् । यस वर्ष विभिन्न घटनाबाट कुल ११८ जना पीडित भएका इन्सेकले जनाएको छ । साथै, कारागारभित्र मृत्युका ५ घटना पनि तथ्याङ्कमा समावेश गरिएको छ ।
समीक्षा कार्यक्रममा जेन्जी आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडका घटनाहरू समेत समेटिएको इन्सेकले जनाएको छ । कार्यक्रममा इनरुवा नगरपालिका प्रमुख केदार भण्डारी, उपप्रमुख विनिता कुमारी मेहता, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक प्रकाश पराजुली लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।