देवानगञ्जमा कृषि सिँचाइ विद्युतीकरण कार्यक्रमको उद्घाटन ज्येष्ठ नागरिक कैलीदेवी मण्डलले गर्ने

शुक्रबार बिहान ११ बजे रामजानकी ठाकुरबाडी मन्दिर परिसरमा उद्घाटन कार्यक्रम
Logo
Popular News शुक्रबार, मंसिर १२, २०८३

इनरुवा, ११ मंसिर । सुनसरीको देवानगञ्ज गाउँपालिकामा कृषि सिँचाइका लागि सञ्चालन गरिएको विद्युतीकरण कार्यक्रमको उद्घाटन शुक्रबार ज्येष्ठ नागरिकबाट हुने भएको छ।

गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताका अनुसार देवानगञ्ज गाउँपालिका–५ की ज्येष्ठ नागरिक कैली देवी मण्डलले विद्युतीकरण कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको हो।

गाउँपालिकाभित्रका सबै वडाबाट संकलन गरिएको तथ्यांकका आधारमा ज्येष्ठ नागरिक मण्डलको हातबाट कार्यक्रम उद्घाटन गर्न लागिएको अध्यक्ष मेहताले जानकारी दिएका छन्। उद्घाटन कार्यक्रम शुक्रबार बिहान ११ बजे देवानगञ्ज–२ स्थित श्री रामजानकी ठाकुरबाडी मन्दिर परिसरमा आयोजना हुनेछ।

गाउँपालिकाले कृषि सिँचाइका लागि विद्युतीकरण कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७९र८० मा १० करोड रुपैयाँ तथा आर्थिक वर्ष २०८०र८१ मा १२ करोड रुपैयाँ लगानी गरी २८ वटा ट्रान्सफर्मर जडान गरिसकेको अध्यक्ष मेहताले बताए। दुई चरणको काम सम्पन्न भइसकेपछि जडान गरिएका ट्रान्सफर्मरको औपचारिक उद्घाटन गर्न लागिएको हो।

उनका अनुसार विद्युतीकरण कार्यक्रमको तेस्रो चरणका लागि ७ करोड रुपैयाँको ठेक्का लागिसकेको छ भने कामसमेत भइरहेको छ। तेस्रो चरणमा थप ८ वटा ट्रान्सफर्मर जडान गरिने र आवश्यक व्यवस्थापनसमेत भइसकेको उनले बताए। केही स्थानमा विद्युतका पोल थप्ने, तार जडान गर्ने तथा अन्य बाँकी काम भइरहेको अध्यक्ष मेहताको भनाइ छ।

यसअघि विद्युतीकरण कार्यक्रमको उद्घाटन उपराष्ट्रपति रामसहाय प्रसाद यादवबाट गर्ने तयारी गरिएको थियो। तर, अन्तिम समयमा विभिन्न पक्षबाट आयोजना पूर्णरूपमा सम्पन्न नभएको विषय तथा कप्तानगञ्जमा भएको गोलीकाण्डलगायतका घटनालाई जोड्दै सुनसरी प्रशासनले सुरक्षा व्यवस्था मिलाउन नसक्ने बताएपछि उपराष्ट्रपतिबाट हुने भनिएको उद्घाटन कार्यक्रम स्थगित गरिएको थियो। त्यसपछि गाउँपालिकाभित्रकै ज्येष्ठ नागरिकबाट कार्यक्रम उद्घाटन गर्ने निर्णय गरिएको हो।

तेस्रो चरणको कामसमेत सम्पन्न भएपछि देवानगञ्ज गाउँपालिकामा कृषि सिँचाइका लागि विद्युतीकरण कार्यक्रम पूर्णरूपमा सम्पन्न हुने अध्यक्ष मेहताले बताएका छन्।

कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै अघि बढाइएको यस योजनाबाट किसानलाई सिँचाइमा सहजता पुग्ने, डिजेल तथा अन्य सिँचाइ खर्च घट्ने र कृषि उत्पादन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। देवानगञ्जमा कृषि सिँचाइका लागि विद्युत विस्तारलाई गाउँपालिकाको महत्वपूर्ण योजनाका रूपमा अघि बढाइएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800